बि.सं. २१०० (पहिलो भाग)

युवा स्वयंसेवकका रुपमा करिब ३० वर्ष पहिले नर्वेमा छँदा जुन अनुभव मसँग थियो, गत हप्ता गुर्जा जाँदा ठ्याक्कै त्यस्तै महशुस गरे मैले । मेरी पत्नीले प्राध्यापन गर्ने विश्वबिधालयमा उनलाई छुट्टी नमिलेपछि शरदकालीन पन्ध्र दिने छुट्टी मनाउन आफु एक्लै त्यता जाँदा एकांकीपनले निकै नै सतायो । धन्न ! मदन पुरस्कार प्राप्त गर्न सफल बहुचर्चीत लेखक सुशिल थकालीको पछिल्लो औपन्यासिक कृति ‘खुलेको आकाश’ साथ मै रहेछ । सातसय पृष्ठको पुस्तक बस यात्रा र अन्य फुर्सदको बेलामा पढेर सक्काएँ ।
सायद २०६८ को वर्खायामतिरको समय हुनुपर्छ, त्यतिखेरका बहुचर्चीत कम्युनिष्ट नेता तथा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हुँदासाथ नेपालमै एसेम्बल भएको मुस्ताङ म्याक्स जिप चढेपछि नेपालको एकमात्र गाडी उत्पादक हुलास मोटर कम्पनीका मालिक निकै हौसिएका थिए । फलस्वरुपः तत्काल आफ्ना इन्जिनियरहरुलाई अझ अरु सुबिधासम्पन्न गाडी निर्माणसम्बन्धी अनुसन्धानका लागि जापान, जर्मनी र अमेरिकाका चर्चीत मोटर उत्पादक कम्पनीमा पठाएको पाँचसात वर्षपछि मोटर उत्पादनमा हुलासले राम्रै गति लिएको हो । पुरानो मोटर उत्पादक कम्पनी भएको भएर पनि हुन सक्दछ, हाम्रो प्रान्तमा उसकै गाडी बढी चल्छन, खासगरी लामो दुरीमा चल्ने उसका अत्यन्तै सुविधाजनक ‘लक्जरियर्स सुपर कोच’ मा चढ्नुको आनन्द बेग्लै किसिमको लाग्दछ, मलाई । यो शरदकालीन छुट्टीमा पतिपत्नी आफ्नै नीजि सवारीमा गुर्जा पुगी छुट्टी मनाउने योजना पत्नीको छुट्टी नमिलेपछि असफल हुन पुग्यो । र, विकल्पस्वरुप कि त म ताकम सम्म रेलमा पुगि त्यहाँबाट फेरि बसमा उता जानु पर्थ्यो कि त सिधैं बसमा उहि पुग्नु पर्थ्यो। मैले दोश्रो विकल्प रोजेँ ।
चालीससिटे बसमा म आनन्दले बसेर ७ घण्टामा गुर्जा पुगेको थिएँ । आडमा एउटी युवती बसेकी थिई । तर यात्राअवधीभर उसँग मेरो बोलचालै भएन । ऊ कतिखेर हेडसेट लगाएर गीतमा झुम्मिन्थी त कतिखेर नोट्प्याड खोलेर केहि टाइप गरे झैं पनि गर्थी । अचेल एक्लै यात्रा गर्दा वा अपरिचीतहरुसँगै यात्रा गर्दा मलाई आफ्नो युवा छँदाको सामाजिक परिवेशको यादले निकै सताउँछ । उतिखेर बेनी देखि बागलुङको यात्रामा म मेरो आडमा बसेको अपरिचितसँग आफ्नो सबै कुरा बेलिबिस्तार लगाएर उसको पनि सातपुस्ते विवरणका बारेमा यथेष्ट जानकारी लिने गर्थे । कहिल्यै नदेखेका नभेटेका मान्छेसँग आधाघण्टा कुरा गरिन्जेल हामी निकै पहिलेदेखि परिचित झैं लाग्थ्यो । तर आजभोली उतिबेलाको जस्तो त एक रति पनि नहुने । छेउमै बसेकी मेरै छोरीकी उमेरकी युवती चुइक्क बोल्दिन, सामिप्यता राख्न खोज्दिने बरु अर्को साइडमा बसेको एउटा विदेशी युवा मलाई बारम्बार हेर्दै मुस्काउन खोज्छ । यात्रा अलिकति अत्यास लाग्दो हुन पुगेपछि पुस्तक खोलेर पढ्नुको विकल्प रहेन । झण्डै तीन घण्टा पछि हामी चढेको सुपर कोच ताकम बजारमा आइपुग्यो । बजारमा के भन्नु, राजमार्गदेखि करिब ५० मिटर तल पर्दछ खास बजार । बस चालकले माइक्रोफोनबाट त्यस क्षेत्रको विवरण पहिले नेपाली र पछि अंग्रेजीमा बताउँदै थियो । विदेशीहरु अलिकति चाखपूर्वक सुन्दै थिए । मेरो आडकी युवती धौलागिरि हिमश्रृङखलाका तस्बीरहरु क्यामेरामा कैद गर्नमा ब्यस्त थिई । मैले उपन्यासको ३२ पृष्ठ पढी सिध्याएँछु, पाना पट्याएर राखेँ ।
जागिरको सिलसिलमा ३४ वर्षपहिले मेरो ताकम आउँजाउँ निकै चर्को हुन्थ्यो । त्यतिखेर चिनजान भएका केहि साथीहरु रोजगारीका कारण त्यहाँबाट आफ्नै सवारीमा डेढ दुई घण्टाको यात्रामा पुगिने ठाउँमा पुग्ने हुनाले धेरैसँग भेट हुन पाएन । तर संजोगबस मेरा युवाकालका साथी त्यहीका स्थायी बासिन्दा प्रकाशसँग भने मेरो भेट भयो । बस उनकै क्याफे अगाडीको पार्किङमा रोकिन पुगेछ । ब्यस्तताका बाबजुद पनि प्रकाशले करिब १० मिनेट म सँगै बसेर कफी पिउने फुर्सद निकाले । धन्य भगवान ! साढे २ घण्टासम्मको मेरो मौनता प्रकाशसँगको गफगाफले गर्दा लम्बिन पाएन । यात्रा अझै साढे चार घण्टा बाँकी थियो । मैले प्रकाशकै क्याफेबाट प्याकिङ लन्चको एक बट्टा लिएँ । कफिको १०५ रु. उनले छुट दिए, तर प्याकिङ लन्चको १,२५० रु. भने मैले तिर्नु पर्‍यो । धेरै लोभ पनि त गर्नुभएन । यो उनको लागि आफ्नो कामदारलाई तीन घण्टाको ज्याला दिन पुग्ने रकम सानो अंकको पनि त हैन !
(नबविकल्प साप्ताहिकमा मैले शुरू गर्न लागेको नयाँ स्तम्भका लागि तयार पारिएको लेख । बरू स्तम्भको नाम के राख्दा उपयुक्त होला ? सुझाव दिनुहोला ।)

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)