बि.सं. २१०० (दोश्रो भाग)

पहिलो भाग पढ्न यहाँ थिच्नुहोस  ।
  1. प्रकाशको क्याफेबाट निस्के पछि मसँग अझै १० मिनेट जति बाँकी थियो । म उसै टहलिएर बसिरहेको थिएँ, मसँगै यात्रा गरिरहेकी युवती मनेरै उभ्भिन आइपुगी । ताकमसम्म आउँदा पनि चुपचाप रहेकी केटी के कुरा गर्न आई छेउमै ? सोधुँ कि भन्ने मनमन लागेको थियो । तर उसले कुरा शुरु गर्नुभन्दा पहिले मेरो मुखबाट एक शब्द पनि चुहिएन । म उभ्भेको ठाउँबाट केहि परको आराम कुर्सीमा आएर बसी । आफ्नो हाते ब्यागबाट बट्टाको बियर झिकी र पिउन थाली । हल्का तनावमा भए झैं देखिन्थी । बेफ्वाँक म उसको क्रियाकलापहरु किन निहालूँ ? मैले उतिरको सम्पूर्ण ध्यान हटाएर म उभ्भेको ठाउँबाट देखिने मनोरम दृश्यहरु हेर्नपट्टि लगाएँ ।
  2. ताकमकोट र ताकम गाउँको बीचतिरको भागबाट लगिएको तीन लेनको लोभलाग्दो सडक छेऊबाट उभ्भिएर ताकम गाउँतिरको रौनक हेर्दा मन रोमाञ्चित नहुने कुरै भएन । मनमन अडकल काटे यो पहाडी सुन्दरतामा ठडिएको बस्तीलाई रातको समयमा यहि ठाउँबाट हेर्दा यहाँको रात्रीकालीन दृश्य झन कति लोभलाग्दो होला ? अहा ! उस्तै रमणीय पुछारमा बगिरहेको म्याग्दी खोला जस्तै रमणीय पारी मुदीको बस्तीछेउको कफीको बगान । जता हेर्यो उतैको दृश्य नै मन लोभ्याउने । यहाँको भ्रमण सिध्याएर घर फर्किएपछि यहाँको रमणीय दृश्यको बयान गर्दा सायद मेरी पत्नीले आफूलाई संसारकै अभागी मान्छे सम्झिनेछिन् । सुनेको थिएँ, यस ताकम नगरको बिछट्टैको सुन्दरताका कारण गुर्जा, मुदि, ढोरपाटन र धौलागिरि हिमालको आधारशिविर घुम्न जाने हजारौं स्वदेशी र विदेशी पर्यटकलाई यस नगरमा एक रात बिताउन करै लाग्छ रे ! हुनपनि यति बिघ्न सुन्दर ठाउँमा केहि पल बिताउन कसले गर्ने कन्जुस्याँइ ?
  3. मेरो आँखा अगाडि, केहिबेरको कफी गफमा प्रकाशले सुनाएको स्नातकोत्तरसम्मको अध्यापन हुने क्याम्पसको पाँच तले भवनसहितको अन्य दुईतले आकर्षक भवनहरु भएको ठाउँ देखियो । युवायुवतीहरुको लर्को लामै देखेँ, मैले । त्यति धेरै बिधार्थीहरु सायद यस क्षेत्रतिर स्नातकोत्तर अध्यापन हुने यो एउटा मात्र क्याम्पस भएकाले हुनुपर्छ । बिधार्थीहरुको उपस्थिती बाक्लो देखिन्थ्यो । पर्यटकीय रुट भएकाले पछिल्लो समयमा यहाँ थुप्रै होटल, लज, रेष्टुँरा र पवहरु खुलेका रहेछन । क्याम्पस पढ्न आउने युवायुवतीहरुले यहाँका होटल, रेष्टुँरा र पवहरुमा आंशिक रुपमा भएपनि जागिर पाउने प्रशस्तै सम्भावना भएकाले उनीहरु यता आएको हुनुपर्छ । पहिले पहिले पो हामीहरुले जागिर पाउने सम्भावना पनि कम हुन्थ्यो, घरबाट अन्नपात ल्याएर डेराको कोठामा बसेर पढ्ने गर्थ्यौ । पढ्न जानु अगाडि कहाँ पढ्ने ? कसरी पढ्ने ? घर सल्लाह गरेर हिड्नुपर्थ्यो । तर अहिले अवस्था त्यस्तो रहेन । १२ कक्षाको पढाइ सिध्याएपछि, केटाकेटीहरुले आफ्नै सुर गर्दछन । कानुनले प्रदत्त गरेको हक भएका कारणले पनि हुनुपर्छ, अचेल मानिसहरु आफ्नो स्वतन्त्रताको हकको भरपुर उपयोग गर्न अति नै सचेत छन । आफ्ना छनौटका विषयमा निर्भिक भएर अगाडि बढ्नु अचेलका मानिसहरुको पहिचान हो । र, पछिल्ला केहि वर्ष अगाडिदेखि यो हाम्रो संस्कारको रुपमा पनि बिकाश हुँदै आएको छ ।
  4. बस चालकले हामी अब गुर्जातिर जान लागेको जानकारी गराउँदै, सबै यात्रुलाई आआफ्नो स्थानमा गएर बस्न आग्रह गर्यो । बियरको पहिलो बट्टा टेबलमा पल्टेको थियो, सायद उसले दोश्रो बट्टाको अन्तिम घुट्को पिउँदै गरेको हुनुपर्छ, सिनित्तै पारेपछि हातको बट्टा पनि टेबलमै राखी । टेबलमा अगाडिदेखि पल्टेको बट्टाले आफूसित पल्टिन अर्को साथी पाइसकेको थियो । अब टेबलमा दुईवटा बट्टा भए । युवतीले आफ्नो मेकअप मिलाउन थाली । उसलाई त्यही छाडेर म बसभित्र छिरेँ । बस चालकले इन्जिन चालु गरिसकेको थियो । बसभित्र सबै यात्रु छिरिसकेका थिए, तर मेरो आडकी युवतीले केहि अबेर गरी । दुई बट्टा त बियर सिध्याएकी थिई उसले मेरै आँखा अगाडि । मैले देख्नुभन्दा पहिले पनि एकदुई बट्टा त अवश्य पिएकै हुनुपर्छ । चालक भन्दै थियो प्यासेन्जर पनि गाडि हिड्ने बेलामा चर्पी खोज्न थाल्छन ! कस्तो औडाहा केटी होली ?
  5. युवती हतारहतार सिटमा आएर बसेपछि मात्र बस गुडन थाल्यो । बियर ह्वास्सै गन्हायो । आफुले गर्दा मलाई असहज भएको थाहा पाएपछि उसले झोलाबाट ल्वाङ निकालेर चाप्न थाली । दुर्गन्ध अलिकति कम भएको महशुस गरेँ मैले । बस आफ्नै रफ्तारमा गुडेको थियो । युवतीले आफ्नो आइपडबाट गीत सुन्न थाली । उसले बजाइरहेको गीत हेडसेटबाट मलाई पनि पुग्ने गरी बाहिर आइरहेको थियो । तल पुछारमा एउटा रेल छुट्ने तरखरमा थियो । मैले उपन्यासको ३३ औं पृष्ठमा आफ्नो आँखा दौडाउन थालेँ ।
(नब बिकल्प साप्ताहिकमा धाराबाहिक रूपमा प्रकाशित उपन्यासको दोश्रो खण्ड)

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)